
सर्लाही । दुर्गा पूजाका लागि उठाइएको चन्दाको विषयमा भएको विवाद र झगडा छुट्याउन पुगेका एक जना प्रहरी घाइते भएका छन्। गत शुक्रबार साँझ सर्लाहीको गोडैता नगरपालिका–७ मा भएको घटनामा प्रहरी नायव निरीक्षक (एस.आई.) अवधेश प्रसाद यादव घाइते भएका हुन्।
प्रहरीका अनुसार दुर्गा पूजाको चन्दाको विषयमा सर्लाहीको रामनगर गाउँपालिका–५ का ३५ वर्षीय ठेकेदार अनिल यादव र गोडैता नगरपालिका–६ का कारिल यादवबीच विवाद भएको थियो। विवाद झगडामा रूपान्तरण भएपछि कारिल यादव घाइते बनेका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।

उक्त विषयमा दुवै पक्षबीच छलफल गराउन प्रहरीले अनिल र कारिल दुबैलाई गोडैता प्रहरी चौकीमा बोलाएको थियो। छलफलको क्रममा कारिल पक्षका वडाध्यक्ष छोटेलाल (विनेश दास) र उनका भाईसहित स्थानीय समूह चौकीभित्र प्रवेश गरी अन्धाधुन्ध ढुंगामुढा गरेका थिए।
ढुंगामुढाका क्रममा प्रहरी नायव निरीक्षक अवधेश प्रसाद यादवको मुखमा चोट लागी दुईवटा दाँत भाँचिएको प्रहरीले जनाएको छ। त्यस क्रममा चौकीमा राखिएको प्रदेश–२–००१ प ०८७२ नम्बरको मोटरसाइकल समेत क्षतिग्रस्त भएको थियो।
घटनापछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक उज्जवल कार्कीको कमाण्डमा अतिरिक्त टोली खटाइएको थियो। उक्त टोलीले घाइते प्रहरीलाई उपचारका लागि मलंगवा पठाएको छ।
सर्लाही प्रहरीले घटनामा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ।



