
काठमाडौं । सशस्त्र प्रहरीकी इन्सपेक्टर डा. महिमा सिटौलालाई बिदा स्वीकृत नगरी कार्यालयमा अनुपस्थित रहेकी भन्दै गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार सचिवस्तरको निर्णयअनुसार सिटौलामाथि ‘भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी’ बर्खास्त गर्ने प्रक्रिया अघि बढाइएको हो। उनी साउन १४ गतेदेखि बिदा स्वीकृत नगराई निरन्तर अनुपस्थित रहँदै आएकी थिइन्।

यस सम्बन्धमा मन्त्रालयले उनलाई सात दिनभित्र कारण बताउने मौका दिएको छ। तोकिएको समयभित्र सिटौलाले लिखित स्पष्टीकरण नदिएमा सोही अनुसार कारबाही प्रक्रिया टुंग्याइने मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
सशस्त्र प्रहरी बलका अनुसार उनी केही समयदेखि निजी कारण देखाउँदै बिदाको अनुरोध गरेकी थिइन् तर बिदा स्वीकृत नभएपछि स्वतः अनुपस्थित भएकी हुन्।
गृह मन्त्रालयले यस घटनालाई अनुशासन उल्लङ्घनका रूपमा लिएको छ र सोही आधारमा बर्खास्ती प्रक्रिया अघि बढाइएको हो।



