सुरक्षा सरोकार  । सरकारले नेपाल प्रहरीका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।

अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानव स्रोत तथा प्रशासन विभागमा, र कार्य विभागमा कार्यरत एआईजी शिद्धिबिक्रम शाहलाई प्रहरी एकेडेमीमा सरुवा गरिएको हो। यी दुवै विभाग केही समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेका थिए।

यससँगै, नेपाल प्रहरीका चार जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। अघिल्लो साता बढुवा सिफारिस सूचीमा परेका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, र डम्बरबहादुर विकलाई यही साता पदस्थापन गर्ने गृह मन्त्रालयको तयारी रहेको स्रोतले जनाएको छ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले उनीहरूको बढुवा र विभागीय पदस्थापन टुंगो लगाउनेछ। हाल प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, र प्रदेश समन्वय विभाग रिक्त रहेका छन्। बढुवापछि यी विभागहरूमा नयाँ एआईजीहरू पदस्थापन हुनेछन्।

त्यस्तै, बढुवा हुनेमध्ये दुई जना हाल प्रदेशमा कार्यरत रहेका कारण प्रदेशहरूमा समेत नयाँ डीआईजी पठाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार मधेश प्रदेशको लागि डिआईजी विनोद घिमिरे र ओम राना लगायतबीच प्रतिस्पर्धा तीव्र बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय