काठमाडौं ।राजधानीको सुन्धारास्थित सिभिल मलभित्र सञ्चालन हुँदै आएको एक खेलौना पसलमा प्रहरीले नक्कली हतियार बरामद गरेको छ।

बिहीबार प्रहरी वृत्त जनसेवाको टोलीले सिभिल मलको पाँचौं तलामा रहेको द टोय स्टोरमा खानतलासी गरेको हो। प्रहरीका अनुसार स्टोरमा सक्कलीजस्तै देखिने नक्कली हतियार बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा अपरेसन सञ्चालन गरिएको थियो।

उक्त स्टोर धादिङ नीलकण्ठ नगरपालिका–३ घर भई हाल काठमाडौं बसुन्धरामा बस्दै आएकी सन्तोषी श्रेष्ठले सञ्चालन गर्दै आएकी थिइन्।

खानतलासीका क्रममा प्रहरीले विभिन्न कम्पनीका नाममा रहेका ६ थान सक्कलीजस्तै देखिने नक्कली हतियार बरामद गर्‍यो।

त्यस क्रममा प्रहरीसँग दुर्व्यवहार गरेको अभियोगमा पसलमा रहेका सुरज मगरलाई नियन्त्रणमा लिइएको छ। उनी काभ्रे रोशी गाउँपालिका–३ घर भई काठमाडौं कलंकी बस्ने ३१ वर्षका हुन्।

महिला प्रहरीसहितको टोलीमाथि अभद्र व्यवहार गर्दै प्रहरीले गरेको अपरेसनमा अवरोध पुर्‍याएको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मगरमाथि अभद्र व्यवहार कसुरमा तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय