
काठमाडौं— सशस्त्र प्रहरी बल (एपीएफ) का प्रमुख आईजीपी राजु अर्यालले डीआईजीमा बढुवा भएका तीन अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सशस्त्र प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आईजीपी अर्यालले गृह मन्त्रालयको फागुन २० गतेको निर्णयअनुसार डीआईजीमा बढुवा भएका कृष्ण ढकाल, दीपेन्द्र कुँवर, र विष्णु भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

त्यस्तै, प्राविधिक डीएसपी र विशेष बढुवा भएका अन्य सशस्त्र प्रहरी अधिकृतहरूलाई पनि चिन्ह प्रदान गरिएको छ। प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) तर्फ डीएसपीमा बढुवा भएका वेद प्रकाश यादवले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्।
अवकाशपूर्व विशेष बढुवाका रूपमा डीएसपी संजय कुमार गोईत र इन्स्पेक्टर प्रकाश सिंह ठकुरीलाई पनि आईजीपी अर्यालले चिन्ह प्रदान गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी अर्यालले बढुवा प्राप्त अधिकृतहरूलाई बधाई दिँदै संगठनप्रति इमानदार भई कार्य सम्पादन गर्न निर्देशन दिए। उनले भने, “सरुवा-बढुवा संगठनको नीति र नियमअनुसार पारदर्शी रूपमा हुने भएकाले सबैले संगठनलाई के दिन सक्छु भन्ने भावनासहित जिम्मेवारी बहन गर्नुपर्छ।”
दर्ज्यानी चिन्ह वितरण कार्यक्रममा एआईजी नारायण दत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाल, डीआईजी कमल गिरी, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याललगायत वरिष्ठ, सिनियर तथा जुनियर अधिकृतहरूको उपस्थिति रहेको थियो।
फोटो फिचर —




