
काठमाडौं — सशस्त्र प्रहरी बलमा वरिष्ठता मिचेर डिआइजीमा बढुवा गरिएको छ। रिक्त रहेका तीन पदमध्ये दुईजना जुनियर अधिकृतलाई बढुवा गरिएको छ।
बिहीबार बसेको गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णु भट्टलाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। तर सिनियर रहेका कृष्णराज पाठक र मनीष थापा भने बढुवाबाट वञ्चित भएका छन्।

बढुवा भएका कुँवर र भट्ट सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन्। स्टाफ कलेज गरेका पहिलो ब्याचका मनीष थापा यसपटक पनि बढुवाबाट छुटेका छन्, भने नेपाल प्रहरीबाट स्थानान्तरण भएका पाठक पनि बढुवा हुन सकेनन्।
बढुवा भएका दीपेन्द्र कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाइँ हुन्। उनकै कारण रिक्त पदमा लामो समयसम्म बढुवा रोकिएको बताइन्छ। यस प्रकारको बढुवा प्रक्रियाले सशस्त्र प्रहरी संगठनभित्र गम्भीर असन्तुष्टि पैदा गरेको छ।
वरियतामाथि हस्तक्षेप गर्दा संगठनको अनुशासन र मर्यादामा असर पर्ने बताइन्छ। यसअघि पनि प्रहरी र सशस्त्र प्रहरी संगठनमा बढुवाका क्रममा विवाद उत्पन्न हुने गरेको थियो।
सामान्यतया प्रहरी संगठनमा वरिष्ठता र योग्यताको आधारमा बढुवा गर्ने परम्परा छ। तर पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण योग्य अधिकृतहरू बढुवाबाट वञ्चित भएको आरोप लागेको छ।
यसअघि पनि बढुवा प्रक्रियालाई लिएर अदालतमा मुद्दा पर्ने गरेका घटनाहरू छन्। सिनियर अधिकृतहरू बढुवाबाट छुटेपछि संगठनभित्र मनोबल गिरने र यसले भविष्यमा असर पार्ने विश्लेषण गरिएको छ।



