काठमाडौं । विपद् व्यवस्थापनको कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल, नेपालले ५३औँ विपद् व्यवस्थापन टोली तयार गरेको छ। सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा सम्पन्न विपद् व्यवस्थापन तालिमको समापनसँगै यो टोली तयार भएको हो।

बरमझियास्थित सशस्त्र प्रहरी बलको प्रांगणमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता र हनुमाननगर नगरपालिकाका प्रमुख वीरेन्द्र माझी सहभागी थिए।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले भूकम्प, आगलागी, खोँचमा फसेका व्यक्तिको उद्धार, र्‍याप्लिङ, क्लाइक्बिङ, प्राथमिक उपचारलगायतका उद्धार प्रक्रियाको कृत्रिम अभ्यास प्रदर्शन गरेका थिए। त्यस्तै, सशस्त्र प्रहरी बलले प्रयोग गर्दै आएको उद्धार सामग्रीको प्रदर्शनीसमेत गरिएको थियो।

११ हप्ताको तालिममा ४८ जना सशस्त्र प्रहरी कर्मचारीले प्राथमिक उपचार, भत्किएका संरचनामा खोज तथा उद्धार, शव व्यवस्थापन, फायर फाइटिङ, रोप रेस्क्यु, हवाई तथा सडक दुर्घटना व्यवस्थापन, जलोत्पन्न प्रकोप उद्धार, राहत र पुनर्स्थापनालगायतका विषयमा प्रशिक्षण प्राप्त गरेका छन्।

तालिममा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी नायव उपरीक्षक शीतल श्रेष्ठलाई पुरस्कृत गरिएको थियो भने सफल प्रशिक्षार्थीहरूलाई विपद् उद्धारको कुम चिन्हद्वारा सुशोभित गरियो।

समापन समारोहमा प्रमुख अतिथि धौवजीले प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएको र उद्धार कार्यमा बलको छवि जनमानसमा स्थापित भएको बताए। उनले प्रशिक्षार्थीहरूलाई विपद्को समयमा उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिए।

कन्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले स्थानीय निकायहरूसँग समन्वय गरी जनचेतना, उद्धार तथा पुनर्स्थापनामा उत्कृष्ट भूमिका निर्वाह गरेको प्रशंसा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय