
पर्सा । सशस्त्र प्रहरी बल नेपाल, बाराले करिब तीन लाख रुपैयाँ बराबरका मोसा सहितका भन्सार छलिएका सामान बरामद गरी भन्सारमा दाखिला गरेको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खटिवडाको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध तरिकाले ल्याइएका करिब १ लाख ३५ हजार ७ सय रुपैयाँ बराबरका चिनी तथा किराना सामग्री मटिअर्वा नाकाबाट बरामद गरेको हो।

यस्तै, जितपुरस्थित सुरक्षा वेशको टोलीले वीरगञ्ज–पथलैया सडकखण्डको नितनपुरमा यात्रुवाहक बसको डिक्कीबाट १ लाख ४५ हजार रुपैयाँ बराबरका महिलाका वस्तु (लेडिज आइटम) बरामद गरेको छ।
त्यसैगरी, निजगढस्थित विपद् व्यवस्थापन सुरक्षा वेशले निजगढ–८ बकैया पुलमा रौतहटबाट हेटौंडातर्फ जाँदै गरेको यात्रुवाहक बसको डिक्कीबाट करिब ६० हजार रुपैयाँ बराबरका रेडिमेड कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।



