चितवन — पृथ्वी राजमार्गमा बारम्बार हुने सवारी दुर्घटना तथा अन्य प्राकृतिक वा मानवीय विपद्का घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा एक नवीन प्रविधिको सुरुवात गरिएको छ।

यो नयाँ प्रविधि अन्तर्गत ‘आपत्कालीन सूचना प्रणाली’ (Emergency Alert System) स्थापना गरिएको छ, जसअन्तर्गत राजमार्गका दुई अत्यधिक दुर्घटनाग्रस्त स्थान — चितवनको सिमलताल (भरतपुर महानगरपालिका–२९) र धादिङको चरौँदी (बेनिघाट रोराङ गाउँपालिका–७) मा विशेष इलेक्ट्रोनिक उपकरण (इलेक्ट्रिक डिभाइस) जडान गरिएको हो।

कसरी काम गर्छ प्रविधि?

यस प्रणाली अन्तर्गत स्थापित ‘इलेक्ट्रिक डिभाइस’ मा आपत्कालीन बटन राखिएको छ। दुर्घटना वा विपद्को घटनाको साक्षी जो कोहीले पनि उक्त डिभाइसमा रहेको हरियो बटन करिब १० सेकेन्डसम्म थिचेपछि सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा सिधै सूचना पुग्नेछ।

सूचना पुग्नासाथ तालिम केन्द्रमा राखिएको विशेष साइरन बज्नेछ र त्यहाँको मनिटरमा घटना भएको स्थानको जिपिएस लोकेसनसहितको विवरण देखिनेछ। यसले उद्धार टोलीलाई तत्काल परिचालन गर्न सजिलो हुने विश्वास लिइएको छ।

मोबाइल एप ‘लुना जिपिएस’ पनि सञ्चालनमा

सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले नारायणघाटदेखि काठमाडौंको नागढुङ्गासम्मका लागि ‘लुना जिपिएस’ मोबाइल एप समेत सञ्चालनमा ल्याइएको छ। प्रयोगकर्ताले एप डाउनलोड गरी आफ्नो स्थानअनुसार दुर्घटना, आगलागी, बाढीपहिरो, स्वास्थ्य आपत्काल वा अन्य समस्या देखेमा एपभित्र रहेको ‘SOS’ बटन थिचेर सिधै सूचना तालिम केन्द्रमा पठाउन सक्ने छन्।

विशेष कुरा के छ भने यो एप अफलाइनमै पनि काम गर्नसक्नेछ, जसले नेटवर्क अभाव भएको स्थानहरूमा पनि सूचना प्रवाहमा सहजता ल्याउनेछ।

विपद् व्यवस्थापनमा सहुलियत

यो प्रणालीबाट समयमै सटीक सूचना प्राप्त हुने भएकाले उद्धार कार्य छिटो र प्रभावकारी हुने, मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने, साथै राहत तथा पुनःस्थापना कार्यमा समेत सरलता आउने अपेक्षा गरिएको छ।

वर्षौंदेखि पृथ्वी राजमार्ग दुर्घटनाका कारण चर्चामा रहँदै आएको छ। यस्तो अवस्थामा यो प्रविधिले यात्रु, सवारी चालक, सुरक्षाकर्मी र स्थानीयका लागि एक नयाँ आशाको उज्यालो बनेको छ।

सुरुवाती चरणमा दुई स्थानमा मात्र सीमित यो प्रणालीलाई आवश्यकता अनुसार अन्य संवेदनशील ठाउँहरूमा विस्तार गरिने तयारी भइरहेको बताइएको छ। सशस्त्र प्रहरी बल र लुना जिपिएस कम्पनीको यो संयुक्त प्रयासले राजमार्ग सुरक्षामा डिजिटल प्रविधिको सशक्त प्रयोग गर्ने दिशामा महत्वपूर्ण पाइला चालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय