
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पुस २६ देखि ट्राफिक सप्ताह मनाउने भएको छ । दुर्घटनाबाट हुने घाइते तथा मृत्युको दर घटाउने लक्ष्यसहित सप्ताह आयोजना गर्न लागिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ट्राफिक सप्ताहको उद्घाटन पुस २६ गते नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गर्नेछन् । नागरिकमैत्री ट्राफिक वातावरण सिर्जना गर्ने उद्देश्यसहित सञ्चालन हुने सप्ताह माघ ३ गते समापन हुनेछ । उद्घाटनअघि बसन्तपुरदेखि रामशाहपथसम्म सचेतनामूलक र्यालीको आयोजना गरिनेछ ।

एक सातासम्म सञ्चालन हुने ट्राफिक सप्ताहको अवधिमा पैदल यात्रुलाई सुरक्षित रूपमा बाटो काट्ने तरिका सिकाइने तथा दुईपांग्रे सवारी साधन लक्षित विशेष सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । काठमाडौँ उपत्यकामा बढी दुर्घटना हुने क्षेत्रहरूमा दुर्घटना न्यूनीकरण गर्नु पनि सप्ताहको मुख्य लक्ष्य रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै एसपी सुवेदीले भने, “ब्ल्याक स्पट सुधार गर्ने हाम्रो लक्ष्य हो।” उनका अनुसार सप्ताह अवधिमा सार्वजनिक सवारीका चालकहरूको प्रेसर, सुगर तथा मुटु परीक्षणसमेत गरिनेछ ।
उपत्यकामा ट्राफिक जाम नियन्त्रणका लागि लामो दूरीका सवारी साधनलाई बसपार्कबाट अन्यत्र प्रवेश गर्न नदिने व्यवस्था गरिएको एसएसपी अधिकारीले बताए । “टिप्पर चालकहरूले लापरबाहीपूर्वक सवारी चलाउने गरेका छन्, उनीहरूलाई सचेत गराउन जरुरी छ,” उनले भने ।
प्रहरीका अनुसार २०८२ साउनपछि काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परेर १०५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमध्ये १७ देखि ३५ वर्ष उमेर समूहका युवाहरूको संख्या बढी छ । एसपी सुवेदीका अनुसार कुल मृतकमध्ये ७२ प्रतिशत दुईपांग्रे सवारी प्रयोगकर्ता रहेका छन् ।



