काठमाडौं । नेपाल प्रहरीको मनोबल बढाउने उद्देश्यले रासन भत्ता वृद्धि गर्ने तयारी अघि बढाइएको छ। गृहमन्त्रालयले प्रहरीको राशन भत्ता बढाउन अर्थमन्त्रालयसँग सहमति लिन प्रस्ताव पठाएको स्रोतले जनाएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गृहमन्त्रालयलाई राशन भत्ता पुनरावलोकन गरी वृद्धि गर्न औपचारिक प्रस्ताव गरिसकेका छन्। हाल सशस्त्र प्रहरीका तुलनामा नेपाल प्रहरीले चार प्रकारका राशन कम पाउने व्यवस्था भएकाले विभेद हटाउन भत्ता वृद्धि आवश्यक ठानेर प्रक्रिया अघि बढाइएको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले विभेद हटाई दुवै सुरक्षा निकायबीच समन्वयपूर्ण व्यवस्था कायम गर्न रासन भत्ता वृद्धि प्रस्तावमा सहमति प्रदान गरिसकेको मन्त्रालय स्रोत बताउँछ। प्रस्ताव हाल मन्त्रालयहरूबीच छलफलको चरणमा रहेको छ।

काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले हाल दैनिक करिब दुई सय रुपैयाँ राशनभत्ता पाउँदै आए पनि, यो रकम दुई पटकको खाना र एक पटकको खाजालाई पर्याप्त रूपमा नपुग्ने गुनासो प्रहरीभित्र द्रुतगतिमा बढिरहेको छ।

नेपाल प्रहरीको राशन भत्ता २०७८ सालपछि पहिलोपटक बढ्न लागिरहेको हो। २०७८ सालमा भत्ता जम्मा १५ प्रतिशत मात्र वृद्धि गरिएको थियो।

सुरक्षा निकायबीच वर्षौंदेखि जारी आएको राशन विभेद हटाउँदै प्रहरीको मनोबल, सेवा–भावना र कार्यक्षमता बढाउनेतर्फ सरकार सकारात्मक देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय