
सर्लाही। सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा भएको सडक दुर्घटनाले एक परिवारलाई शोकमा डुबाएको छ। इँटा लोड गरेर गइरहेको मधेस प्रदेश ०३–००१ त ८७०४ नम्बरको ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिका सोहानी साह फकिरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार घर नजिकै बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी सोहानी गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामै उनलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्याक्टर समेत सडकमा पल्टिएको थियो। घटनापछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।



