
विराटनगर— विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको ज्यान गएको हो। उनी कोशी प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा कार्यरत थिए।
प्रहरीका अनुसार बुधबार राति करिब १२:२५ बजेतिर विराटनगर महानगरपालिका–३, बरगाछी चोक नजिक कोशी राजमार्गमा खड्का सवार मोटरसाइकल (बा.प्र. ०२–०४३ प ७७१६) दुर्घटना भएको थियो। दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




