
धनगढी । कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। आइतबार बिहान करिब ५:३० बजे घोडाघोडी नगरपालिका–२ टनकपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रीहरूलाई ठक्कर दिएको थियो।
ठक्करबाट बर्दगोरीया गाउँपालिका–६ कोटा तुल्सिपुरका ५५ वर्षीय साइकल यात्री शंकर डगौराको मृत्यु भएको हो। घाइते अवस्थामा घोडाघोडी अस्पताल सुखडमा लगिएको उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।

उक्त दुर्घटनामा तीनजना घाइते भएका छन्। घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पैदल यात्री पदम बहादुर शाहीको बाँया हात र खुट्टामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, बर्दगोरीया गाउँपालिका–६ का ४५ वर्षीय साइकल यात्री हर्क बहादुर डगौरा र २५ वर्षीय कृष्ण डगौरा पनि घाइते भएका छन्। उनीहरूको हात, खुट्टा र छातीमा चोट लागेको छ र दुबैको उपचार सि.यस् अस्पताल सुखडमा भइरहेको छ।
घटनापछि जिप चालक रोल्पा त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनास्थलमा मुचुल्का तयार गरिरहेको जनाएको छ।
दुर्घटनापछि बौनियाँदेखि सुखडसम्म पूर्व–पश्चिम राजमार्ग बन्द हुँदा सवारीसाधन आवागमन ठप्प भएको प्रहरीले जानकारी दिएको छ।



