
काठमाडौं ।अरुले विद्युतीय माध्यमबाट अपराध गरे प्रहरी अनुसन्धानमा लाग्छ। तर, यसपटक प्रहरीकै आधिकारिक विज्ञप्तिमाथि ‘विद्युतीय कारोबार’ भएको देखियो ।त्यो देख्दा सबै अचम्म पर्नु स्वभाविक थियो ।
साइबर क्राइम मुद्दामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुर बस्ने ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरिएको सूचना साइबर ब्यूरोले आफ्नो नियमित विज्ञप्तिमार्फत दिएको थियो। तर, प्रारम्भिक विज्ञप्तिमा आरोपीको फोटो समावेश गरिएको थिएन।

विज्ञप्ति बाहिरिएलगत्तै केही समयमै ‘रमा बस्नेत पक्राउ’ भन्दै एउटा फोटोसहितको अर्को विज्ञप्ति सार्वजनिक भयो, जुन ब्यूरोकै लेटरहेडमा तयार गरिएको थियो। तर, ब्यूरोले यस्तो विज्ञप्ति सार्वजनिक नगरेको दाबी गरेको छ।
प्रहरी प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार,“ब्यूरोले अहिलेसम्म आरोपीको कुनै पनि फोटो सार्वजनिक गरेको छैन। तर, हाम्रो लेटरहेड प्रयोग गरी फोटोसहितको विज्ञप्ति बाहिरिएको छ, जुन पूर्णतः गैरकानुनी हो।”
उनका अनुसार, प्रहरी स्वयंले समेत कुनै घटनामा संलग्न व्यक्तिको पूरै अनुहार खुल्ने फोटो सार्वजनिक गर्न पाउँदैन। “हामी यस घटनालाई गम्भीर रूपमा लिएका छौं,” अवस्थीले बताए, “जसले यो कार्य प्रारम्भ गरेको हो, उसलाई पहिचान गर्ने प्रक्रिया अघि बढेको छ।”
प्रहरीकै आधिकारिक दस्तावेजको यस्तो दुरुपयोगले प्रहरी प्रणालीमाथि नै प्रश्न उठाएको छ। तर प्रहरीका अनुसार, उक्त फर्जी विज्ञप्ति किन, कसले र कुन उद्देश्यले प्रकाशन गर्यो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको जानकारि दिएको छ ।



