काठमाण्डौं—मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा घरायसी विवादका कारण खुकुरी प्रहार हुँदा एक महिलाको ज्यान गएको छ भने उनका जेठाजु गम्भीर घाइते भएका छन्।

बुधबार बेलुकी ९ बजे ३५ वर्षीया गुडिया दास आफ्नै घरको दोस्रो तलामा मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर ठाकुरप्रसाद सापकोटाका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रहार भएको थियो।

यसअघि, दिउँसो करिब ४:१० बजे सोही घरका २८ वर्षीय रूपेश दासमाथि उनका कान्छा भाइ २२/२३ वर्षीय राहुल भन्ने रमेश दासले खुकुरी प्रहार गरेको खबर प्रहरीले पाएको थियो।

घटनास्थलमा पुगेका प्रहरीले रूपेशलाई टाउको, दाहिने हात, करङलगायतका भागमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ।

प्रहरीले सोही स्थानबाट रमेशलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको छ।

सोही दिन राति गुडिया दास मृत भेटिएको खबर प्राप्त भएपछि प्रहरीले पुनः उक्त घरमा गएर अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा रमेशले आफ्नी जेठी भाउजुमाथि खुकुरी प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ। साथै, उनले माइला दाइ रूपेशमाथि पनि हत्या प्रयास गरेको खुलेको छ।

प्रहरीका अनुसार सम्पत्ति विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय