काठमाडौं – नेपालकै निजी हवाई सेवा प्रदायक बुद्ध एयरको टिकट बिक्री प्रणाली (सफ्टवेयर) ह्याक गरी अनधिकृत रूपमा टिकट बिक्री गर्ने गिरोह काठमाडौंमै सक्रिय रहेको खुलासा भएको छ। यसै क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मोरङको रंगेली नगरपालिका–७ का ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट गाउँपालिका–३ का ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन्। उनीहरू हाल काठमाडौंको तारकेश्वर नगरपालिकामा बसोबास गर्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बत्तीसपुतली क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, उनीहरूले गौशाला–बत्तीसपुतली क्षेत्रबाटै बुद्ध एयरको आन्तरिक कम्प्युटर प्रणाली (सफ्टवेयर) ह्याक गरेका थिए।

अनुसन्धानका क्रममा उनीहरूले करिब १५ दिनअघि नै सिस्टम ह्याक गरी हालसम्म २० यात्रुको हवाई टिकट अनधिकृत रूपमा बिक्री गरिसकेको स्वीकार गरेका छन्। ती टिकटको पैसा आफूहरूले राखेको पनि स्वीकार गरेको प्रहरी उपरीक्षक तथा कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

बुद्ध एयरले आफ्नो प्रणाली ह्याक भई अनधिकृत टिकट बिक्री भइरहेको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको थियो। अनुसन्धानपछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको हो।

हाल पक्राउ परेका दुवैजनामाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाइनेछ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय