काठमाडौं — जिल्ला प्रहरी परिसर, काठमाडौंले एसइईको प्रमाणपत्र, प्रहरी रिपोर्टदेखि लिएर विभिन्न अनुभवपत्रसम्मका नक्कली कागजात बनाउन संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुशी टाउनप्लानिङस्थित एक पसलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा गोरखाको शहीद लखन गाउँपालिका–४ घर भई हाल काठमाडौं–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ घर भई हाल धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ घर भई हाल गोंगबु बस्ने २९ वर्षीय सविन आले मगर रहेका छन्।

लामिछानेले सञ्चालन गर्दै आएको ‘ईजी सप’ नामक पसलमा नक्कली कागजात तयार पारिने गरेको विशेष सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो। पसलमा खानतलासी गर्दा सरकारी तथा गैरसरकारी कार्यालयका किर्ते कागजात कम्प्युटरमा फेला परेपछि प्रहरीले उक्त कम्प्युटर बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार, पक्राउ परेकाहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय