
काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनलाई व्यवस्थित, द्रुत र प्रभावकारी बनाउन स्थानीय समुदायको सहभागितामा देशभरि करिब एक लाख ७० हजार जनाको ‘विपद् सूचक नेटवर्क’ निर्माण गर्ने रणनीति अघि सारेको छ।
वर्तमान समयमा प्राकृतिक प्रकोप, बाढीपहिरो, आगलागी, भूकम्पलगायतका विपद् व्यवस्थापनमा तत्काल सूचना, उद्धार र समन्वय अपरिहार्य भएकाले सशस्त्र प्रहरीले ‘सामुदायिक सूचक प्रणाली’ मार्फत पूर्वतयारी र प्रतिकार्यलाई व्यवस्थित गर्ने योजना बनाएको हो।

सशस्त्र प्रहरीका अनुसार यही जेठ महिनाभित्र देशभर रहेका २३ वटा बाहिनी तथा मातहत गणहरू मार्फत वडास्तरमा २५ जनाको दरले विपद् सूचक टोली निर्माण गरिनेछ। यसरी निर्माण हुने टोलीमा प्रत्यक्ष सूचना संकलन, प्रतिकृया दिने क्षमता र सशस्त्र प्रहरीसँग समन्वय गर्ने दक्षता भएका व्यक्तिहरू रहनेछन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, यी सूचकहरूलाई विपद् पहिचान, सूचना सम्प्रेषण, तत्काल उद्धार टोलीलाई मार्गनिर्देशन लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण दिइनेछ। त्यस्तै, सूचकहरूलाई ‘विपद् सिमुलेशन अभ्यास’मा पनि सहभागी गराउने गरी तयारी भइरहेको थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलले स्थानीय समुदायमा ‘विपद् स्वयंसेवक उद्धारक’ तयार गर्ने अर्को अभियान पनि सुरु गरिसकेको छ। महानिरीक्षक राजु अर्यालको नेतृत्वमा यो वर्षकै योजना अनुसार ७ वटै प्रदेशमा एक हजार विपद् उद्धारक तयार पारिनेछ।
यसै योजनाअनुसार सशस्त्र प्रहरीको २३ नं गण मनकामना, तनहुँले तालिमको सुरुआत गरिसकेको छ। स्थानीय तहसँग समन्वय गरी सञ्चालन भइरहेको तालिममा हालसम्म ५८ जना समुदाय सदस्य सहभागी छन्।
समुदाय विपद् उद्धारकलाई १८ दिने तालिम दिइनेछ जसमा बाढी, पहिरो, आगलागी, प्राथमिक उपचार, खोज तथा उद्धार, राहत व्यवस्थापन, जनसंख्या व्यवस्थापन आदि विषय समेटिनेछन्।
सहप्रवक्ता थापाका अनुसार चालु आर्थिक वर्षमै १८ वटा सामुदायिक विपद् तालिम सञ्चालन गरिँदैछ भने आगामी वर्ष थप १४७ वटा तालिम सञ्चालन गर्ने योजना रहेको छ।
विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले प्रतिकृयामूलक शैलीबाट पूर्वतयारीयुक्त समुदाय-केन्द्रित मोडलमा रूपान्तरण गर्दै लैजाने देखिएको छ। यसले राष्ट्रियस्तरमा विपद्को प्रतिकार्य क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने सशस्त्र प्रहरी बलको विश्वास छ।
यस अभियानबाट विपद् पूर्वतयारी, तत्काल सूचना, समन्वयात्मक उद्धार र पुनःस्थापनाको खाका तयार हुने आशा गरिएको छ।



