
काठमाण्डौं — प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले बिहीबार प्रहरी बृत्त चापागाउँ, ललितपुरमा पुनर्निर्मित भगवती मन्दिर र नयाँ प्रवेशद्वारको उद्घाटन गर्नुभयो। नेपाल सरकार, नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी बृत्त चापागाउँ, स्थानीय नगरपालिका, गाउँपालिका, र जनसमुदायको सहयोगमा कुल २४ लाख १५ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो।
उद्घाटन समारोहमा, मन्दिर निर्माणमा सहयोग गर्ने महानुभावहरूलाई प्रशंसा पत्र वितरण गर्दै, प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि समुदाय र प्रहरीबीचको सहकार्यको महत्त्वलाई जोड दिनुभयो। उहाँले समाजमा देखिएका गलत प्रवृत्तिहरूलाई नियन्त्रण गर्न सुझाव र सल्लाह प्रदान गर्न नागरिकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।


उक्त कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी, प्रहरी बृत्त चापागाउँका प्रमुख, निर्माण समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, र अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।




