सुरक्षा सरोकार — सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव कुमार थेबे तस्करी नियन्त्रणमा आक्रामक रूपमा उत्रिएका छन्। खुला सीमामा चल्दै आएको चोरी–तस्करी रोकथामका लागि पछिल्लो एक महिनामा सुनसरी प्रहरीले उल्लेखनीय सफलता हात पारेको छ।

सुनसरी प्रहरीले गत एक महिनामा मात्रै रु. ५७ लाख ६४ हजार ५५६ मूल्यबराबरको भन्सार छली सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

एक महिनाअघि मात्रै जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यभार सम्हालेका एसपी थेबेले पदभार ग्रहण गरेसँगै चोरी, पैठारी तथा तस्करी नियन्त्रणमा कडाइ गरेका हुन्। उनले कार्यभार सम्हालेको असोज ६ गतेदेखि नै मातहतका सबै युनिटहरूलाई तस्करी नियन्त्रणमा कठोर भएर काम गर्न निर्देशन दिएका थिए।

त्यससँगै, जिल्लाबासीको सुरक्षालाई प्राथमिकता दिँदै उनले सम्पूर्ण प्रहरीलाई जिम्मेवारीपूर्वक र जनमुखी ढंगले कार्य गर्न आदेश दिएका छन्।

चाडपर्वलाई लक्षित गर्दै सुनसरी प्रहरीले प्रहरी सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार, चाडपर्वका समयमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि चेकजाँच कडाइ गरिएको छ भने सादा पोशाकका प्रहरीहरू पनि सूचना संकलनका लागि खटाइएका छन्।

एसपी थेबेले भने, “प्रहरी सम्पूर्ण नागरिकको साथमा छ। ढुक्क भएर कुनै पनि विकृति वा अपराधबारे समयमै सूचना दिनुहोस्। सूचना दिने व्यक्तिको गोपनीयता हामी सुनिश्चित गर्छौं,”।

उनले अपराध र तस्करी नियन्त्रणमा शून्य सहनशीलता नीति अपनाउँदै प्रहरीलाई पूर्ण व्यावसायिकता र पारदर्शितासहित काम गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय