काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजिपी) चन्द्रकुवेर खापुङलाई तेह्रथुमको मेन्छ्यायेम सेवा समाजले एक विशेष कार्यक्रममा सम्मान गरेको छ। शनिबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा खापुङको योगदानप्रति कदर गर्दै समाजले सम्मान प्रदान गरेको हो।

मेन्छ्यायेम गाउँपालिकामा जन्मी, हुर्की र माध्यमिक तहसम्म अध्ययन गरी नेपाल प्रहरीको उच्च पद — अतिरिक्त महानिरीक्षक — मा पुग्न सफल खापुङले जिल्लालाई गौरवान्वित बनाएको भन्दै उनलाई सम्मान गरिएको समाजका महासचिव केशव भट्टराईले बताए।

कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार तथा स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले खापुङलाई असल र क्षमतावान प्रहरी अधिकृतको रूपमा उल्लेख गर्दै प्रहरी महानिरीक्षकमा पदोन्नतिका लागि शुभकामना व्यक्त गरे। समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले खापुङलाई जिल्लाको गौरव र प्रेरणाको स्रोत भन्दै आगामी यात्राका लागि सफलताको कामना गरे।

सम्मान ग्रहण गर्दै एआइजिपी खापुङले जन्मभूमिबाट प्राप्त भएको सम्मान र हौसला आफूका लागि अत्यन्तै महत्वपूर्ण भएको उल्लेख गर्दै, यस्ता प्रेरणाले अझै जिम्मेवार र सक्षम रूपमा काम गर्न ऊर्जा मिल्ने बताए।

कार्यक्रममा मेन्छ्यायेम गाउँपालिका निवासी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अभिनारायण काफ्लेले पनि खापुङलाई प्रेरणाको पात्र भन्दै बधाई ज्ञापन गरेका थिए।

वि.सं. २०५२ सालमा प्रहरी इन्स्पेक्टरका रूपमा सेवा आरम्भ गरेका खापुङ हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) का प्रमुखका रूपमा कार्यरत छन्। आफ्नो निष्ठा, दक्षता र अनुशासनका कारण उनले संगठनभित्र उच्च सम्मान प्राप्त गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय