विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई २०८२ साल जेठ महिनाको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

कार्यालयका अनुसार खड्काले विभागीय मूल्य–मान्यता र निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र समर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गरेका कारण यो सम्मान प्रदान गरिएको हो।

विशेषतः गत जेठ २० गते मोरङको ग्रामथान गाउँपालिका–७ मा शंकास्पद अवस्थामा रहेको एक बेवारिसे टाटा सुमो चेकजाँच गर्ने क्रममा उनले दुई व्यक्तिसहित ३४७ किलो ११० ग्राम गाँजा बरामद गर्न सफल भएका थिए।

त्यसैगरी, फैसला कार्यान्वयन अन्तर्गत पाँच वर्ष कैद सजाय पाएका एक कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तसहित विभिन्न मुद्दामा जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यमा पनि खड्काले सफलता हासिल गरेका थिए।

साथै, ग्रामथान–७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलास गर्दै उनले ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ परियोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पारेका थिए। उक्त घटनाको अनुसन्धान गर्दै मृतकका सुनका गहना नजिकैको एक घरमा माटोमुनी गाडिएको अवस्थामा फेला पारेपछि संलग्न शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको थियो।

खड्काले आफ्नो कार्यक्षेत्रको शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ को रूपमा सम्मानित गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय