
काठमाडौं, असार ५ । जिल्ला प्रहरी कार्यालय सिराहको जेठ महिनाको “Police of the Month” को रूपमा प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) बिरेन्द्र कुमार पासवानलाई चयन गरेको छ।
प्रहरी संगठनले दिएको जिम्मेवारीप्रति पूर्ण रूपले लगनशील, कर्तव्यनिष्ठ भई आफ्नो कार्य सम्पादन गरेका पासवानले शान्ति सुरक्षाको प्रवर्द्धन, नागरिकमा सुरक्षाको अनुभूति गराउने कार्य तथा प्रहरी संगठनको गौरव वृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान दिएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

पासवान हाल जिल्ला प्रहरी कार्यालय सिराहमा सूचना अधिकारीको रूपमा कार्यरत छन्। संगठनका तर्फबाट जनताको पक्षमा सकारात्मक सन्देश प्रवाह गर्न, प्रहरी कार्यलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न तथा समुदाय–प्रहरी सम्बन्ध सुदृढ गर्न उनले निर्वाह गरेको भूमिकाको उच्च कदर गरिएको छ।
नेपाल प्रहरी संगठनले यस्तो सम्मान प्रदान गर्दै उत्कृष्ट कार्यदक्षता देखाउने प्रहरी कर्मचारीहरूलाई हौसला प्रदान गर्दै आएको छ।



