
इलाम — जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत प्रहरी निरीक्षक संजीब बोगटीलाई २०८२ सालको वैशाख महिनाको लागि “उत्कृष्ट प्रहरी” (Police of the Month) को रुपमा घोषणा गरिएको छ।
उक्त सम्मान उहाँलाई लागुऔषध नियन्त्रण तथा जघन्य अपराध अनुसन्धानमा देखाएको अद्वितीय समर्पण, व्यावसायिक दक्षता र सफल कारबाहीको मूल्याङ्कन स्वरूप प्रदान गरिएको हो। बोगटीले इलाम जिल्लाका विभिन्न स्थानमा विशेष रणनीतिक अभियान सञ्चालन गरी लागुऔषधसहित अनेक अभियुक्तलाई नियन्त्रणमा लिनुका साथै, फरार रहेका अपराधीहरूलाई पनि पहिचान गरी पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रहरी निरीक्षक बोगटीले समर्पित रूपमा अनुसन्धानमा खटिँदै जघन्य अपराधहरूका रहस्य फेला पार्न सफल भएका छन्। घटनामा संलग्न व्यक्तिहरूलाई वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धान प्रविधिको प्रयोग गरी कानुनी दायरामा ल्याउनु उनका सफल प्रयासहरू मध्ये एक हो।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले बोगटीको कार्यसम्पादनप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “निरीक्षक बोगटीले देखाएको साहस, लगनशीलता र निष्ठा प्रहरी संगठनको गौरव हो। यस्ता कर्मठ प्रहरीहरूकै कारण नागरिकमा प्रहरीप्रतिको विश्वास अझ मजबुत भएको छ।”
उत्कृष्ट प्रहरीको रुपमा घोषित भएपछि संजीब बोगटीले यो सम्मान आफू मात्रको नभई सम्पूर्ण प्रहरी टोलीको सामूहिक प्रयासको फल भएको प्रतिक्रिया दिएका छन्।



