
काठमाण्डौं- प्रहरी नायब निरीक्षक अर्जुनबाबु खतिवडालाई कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले “बैशाख महिनाको उत्कृष्ट प्रहरी” घोषणा गरेको छ।
उक्त सम्मानपत्रमा प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले हस्ताक्षर गरेका हुन् भने प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रदान गरेका हुन्।

खतिवडा इलाका प्रहरी कार्यालय परवानीपुरको दरबन्दीमा रही हाल जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत छन्। उनले अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा निरन्तर लगनशीलता, व्यवसायिकता, र उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गर्दै आएका छन्।
बैशाख २० गते राति उनले २२५ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरी लागुऔषध नियन्त्रणमा उल्लेखनीय योगदान दिएका थिए। उक्त गाँजा मकवानपुरबाट बारातर्फ फल्स बटम बनाई ल्याइँदै थियो।
खतिवडाले शाखा व्यवस्थापन, अभिलेख प्रणाली विकास, र समन्वयात्मक कार्यक्षमतामा समेत उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। प्रहरी संगठनले उनको कार्यले अन्यमा पनि सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गर्दै उत्कृष्ट प्रहरीको रुपमा कदर गरेको हो।



