
वीरगञ्ज – राजधानी काठमाडौंमा सम्पन्न प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस्टर नेसनल २०२५ मा वीरगञ्जका अजहर आलमले दोहोरो उपाधि जित्दै नगरको शान बढाएका छन्। उनले पब्लिक च्वाइस २०२५ र सेकेन्ड रनर अप दुबै उपाधि हात पार्न सफल भएका हुन्।
यी दुवै उपाधि एकै पटक जित्ने अजहर वीरगञ्जका पहिलो प्रतियोगी बनेका छन्। राष्ट्रियस्तरको प्रतियोगितामा यति ठूलो सफलता हासिल गर्ने उनी वीरगञ्ज महानगरपालिकाका प्रथम व्यक्तिका रूपमा चिनिएका छन्।

उनको यो उपलब्धिलाई उच्च मूल्याङ्कन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विशेष कार्यक्रममार्फत सम्मान प्रदान गरे। उनले भने, “अजहरले प्राप्त गरेको सफलता वीरगञ्जको प्रतिष्ठा र पहिचान उचो बनाउने खालको छ।”
सम्मान समारोहमा स्थानीय समाजसेवी, युवा नेताहरू, प्रशिक्षकहरू, तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अजहरले आफ्नो सफलताको श्रेय परिवार, मित्र, प्रशिक्षक र सम्पूर्ण वीरगञ्जवासीलाई दिएका छन्। उनले भने, “आगामी दिनमा अझ मेहनत गरेर देश र शहरको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गर्नेछु।”




