
अत्तरिया, कैलाली — फरार अभियुक्तलाई भारतबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन सफल प्रहरी टोलीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगदसहित पुरस्कृत गरेको छ।
सरकारी वकिलको कार्यालय कैलालीबाट फरार भएकी एक महिलालाई खोजी गरी भारतबाट नियन्त्रणमा लिन सफल प्रहरी नायब निरीक्षक (सई) गजेन्द्र बहादुर चन्दसहित चार जना प्रहरी कर्मचारीलाई कैलाली प्रहरीले विशेष रूपमा सम्मान गरेको हो।

पुरस्कृत हुनेमा सई चन्दसँगै प्रहरी सहायक हवल्दार रविन्द्र शाही, सन्तोष महरा र प्रहरी जवान महेश ओझा रहेका छन्। उनीहरू सबै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत छन्।
प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले उनीहरूलाई अपराध अनुसन्धानमा देखाएको सक्रियता र सफलताको कदर स्वरूप नगदसहित प्रमाणपत्र प्रदान गरेका हुन्। प्रहरी कार्यालयका अनुसार पुरस्कृत विवरण सेवाको रेकर्डमा समेत उल्लेख गरिनेछ।
मानव बेचबिखन मुद्दामा इलाका प्रहरी कार्यालय टीकापुरले पक्राउ गरेकी ५० वर्षीया मिना शाही दमाई म्याद थपका लागि ल्याएका बेला आइतबार दिउँसो धनगढीस्थित जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित भागेकी थिइन् ।
प्रहरीले अन्तरदेशीय समन्वय र सक्रिय प्रयासमार्फत फरार अभियुक्त पक्राउ गर्न सफल भएको जनाउँदै यसले अन्य प्रहरी कर्मचारीलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।



