
सुरक्षा सरोकार , काठमाण्डौं — जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ट्राफिक इन्सपेक्टर गणेश पौडेल २०८१ सालको चैत्र महिनाको “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” (Traffic Police of the Month) घोषित भएका छन्।
पौडेलले झापा जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि विविध कार्यहरू सञ्चालन गरेका थिए। उनले सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षण (आँखा परीक्षण, रक्तचाप जाँच) र लागू पदार्थ सेवनसम्बन्धी चेकजाँच कार्यक्रम सञ्चालन गरेका थिए। साथै, ट्राफिक चेकजाँचलाई कडाईका साथ लागू गर्दै, तिब्र गति, मापसे/लापसे, मोबाइल प्रयोग, सिटबेल्ट प्रयोग नगर्ने, जथाभावी ओभरटेक गर्नेजस्ता ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कानुनी दायरामा ल्याएका थिए।

इन्सपेक्टर पौडेलले विद्यार्थी र नयाँ चालकहरूलाई लक्षित गरी ट्राफिक नियमसम्बन्धी कक्षा सञ्चालन गर्नुका साथै माइकिङमार्फत आम नागरिकहरूमा सुरक्षित सडक प्रयोगसम्बन्धी जनचेतना फैलाउने कार्य पनि गरेका थिए।
त्यसैगरी, उनले विभिन्न संघ–संस्थासँग समन्वय गर्दै ट्राफिक प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा मनोपरामर्श कार्यक्रमहरू सञ्चालन गराउनुका साथै प्रविधियुक्त ट्राफिक व्यवस्थापन प्रणालीमार्फत सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
उक्त योगदानको उच्च मूल्याङ्कन गर्दै इन्सपेक्टर गणेश पौडेललाई “महिनाको उत्कृष्ट ट्राफिक प्रहरी” घोषणा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।



