
काठमाडौं — प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले ६९ जना प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरेको छ।
प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले २ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी), ७ जना नायब महानिरीक्षक (डिआइजी), ७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित विभिन्न तहका प्रहरी कर्मचारीलाई नगदसहित सम्मान गरेका हुन्।

पुरस्कृत हुने एआइजीहरूमा कार्य विभागका उमा प्रसाद चतुर्वेदी र उपत्यका प्रहरी कार्यालय रानीपोखरीका ईश्वर कार्की रहेका छन्। चतुर्वेदीको नेतृत्वमा निर्वाचन केन्द्रित सुरक्षा रणनीति तयार पारिएको थियो भने कार्कीले काठमाडौं उपत्यकामा शान्तिपूर्ण र व्यवस्थित निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी डिआइजीहरूमा कार्य विभागका अरुण पौडेल, कोशी प्रदेश प्रहरी प्रमुख बिनोद घिमिरे, मधेस प्रदेश प्रहरी प्रमुख गोविन्द थपलिया, बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मी, गण्डकी प्रदेश प्रहरी प्रमुख दिपेन्द्र जिसी क्षेत्री, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्री तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख ओम राना सम्मानित भएका छन्।
एसएसपीहरूमा मुकुन्द मरासिनी, कृष्णबहादुर पल्लीमगर, जनार्दन जिसी, सन्तोषकुमार भट्टराई, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी र सुबासचन्द्र बोहोरा पुरस्कृत भएका छन्।
त्यसैगरी एसपी, डीएसपी, इन्स्पेक्टर, सई, हवल्दार तथा प्रहरी जवान तहसम्मका कर्मचारीहरूलाई समेत सम्मान गरिएको प्रहरीले जनाएको छ।
आइजीपी कार्कीका अनुसार निर्वाचन अवधिभर देशभर कडा सुरक्षा व्यवस्था मिलाउँदै मतदातालाई ढुक्क वातावरणमा मतदान गर्न सुनिश्चित गरिएको थियो। पुरस्कृत सबै कर्मचारीहरूले आ–आफ्नो क्षेत्रमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्दै निर्वाचन सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।
सङ्गठनको नीति–निर्देशनलाई अनुशासित, लगनशील, इमानदार र व्यावसायिक ढङ्गले पालना गरेको भन्दै उनीहरूलाई १ हजार ९ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म नगद पुरस्कार प्रदान गरिएको प्रहरीले जनाएको छ।



