
काठमाडौं । नेपाल प्रहरीकी प्रहरी नायब निरीक्षक (सई) कुन्जाङ छोपेल शेर्पा सशस्त्र प्रहरी बलको विशेष कार्यक्रममा सम्मानित भएकी छन्। सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस (रजत महोत्सव) का अवसरमा आयोजित कार्यक्रममा उनलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले IG APF Commendation प्रदान गरेका हुन्।
नेपाल प्रहरीमा कार्यरत रहँदै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी नेपाल प्रहरी तथा सम्पूर्ण सुरक्षा निकायको गौरव बढाउन सफल भएकी शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो। उनले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे सगरमाथाको सफल आरोहण गर्दै चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा “महिला र बालिकाहरू विरुद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ” भन्ने नारासहितको ब्यानर फहराएकी थिइन्।

उनको यस साहसिक र प्रेरणादायी उपलब्धिको कदर गर्दै नेपाल प्रहरीले यसअघि नै विशेष सम्मानसहित एक तह बढुवा गरेको थियो।



