लहान । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सालिकराम तिमिल्सिना पुस महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले उनलाई पुस महिनाको उत्कृष्ट प्रहरीको रूपमा चयन गरेको हो।

गत असोजदेखि सिरहा ट्राफिक प्रहरी प्रमुखको रूपमा कार्यरत निरीक्षक तिमिल्सिनाले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै कर्तव्यनिष्ठ, अनुशासित र लगनशील ढंगले सेवा प्रवाह गरेको ठहर गरिएको छ। स्थानीय सरकारसँगको प्रभावकारी समन्वयमा प्रशासनिक कामकाज सञ्चालन गर्नुका साथै तालुक मधेश प्रदेश प्रहरी कार्यालयबाट स्वीकृत ‘सडक दुर्घटना विरुद्ध युवा २०८२’ कार्ययोजना कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्यांकन गरिएको छ।

उनको नेतृत्वमा सवारी दुर्घटना न्यूनीकरण गर्दै भौतिक तथा मानवीय क्षतिमा कमी ल्याउनुका साथै ब्ल्याक स्पट पहिचान, आवश्यकता अनुसार रिफ्लेक्टिभ बोर्ड, टेप तथा स्टिकर टाँस्ने कार्य गरिएको जनाइएको छ। जाडोयाममा बाक्लो हुस्सुका कारण हुने दुर्घटनाको उच्च जोखिम न्यूनीकरण गर्न सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी पहल गरिएको कार्यालयले उल्लेख गरेको छ।

त्यसैगरी विभिन्न भिभिआइपी तथा भिआइपी सवारी व्यवस्थापनमा प्रभावकारी भूमिका, कार्यकुशलता, इमान्दारिता र कर्तव्यनिष्ठामा उल्लेखनीय योगदान पुर्‍याएको आधारमा उनलाई सम्मानित गरिएको हो।

प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक प्रभाव पर्न गई कार्य सम्पादनमा अझ प्रभावकारिता आउने ठहरसहित प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को उपनियम (९)(ख) बमोजिम प्रोत्साहन स्वरूप एक हजार तीन सय रुपैयाँ नगदसहित पुस महिनाको उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय