जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाईल, धनुषाका कार्यालय प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाही मंसिर महिनाको “बेष्ट ट्राफिक पुलिस अफ दि मन्थ” अवार्डबाट सम्मानित हुनुभएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनअनुसार कर्तव्यनिष्ठ, अनुशासित र लगनशील रूपमा कार्यसम्पादन गर्दै जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।

प्रहरी निरीक्षक शाहीको पहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको गेटमा LED डिस्प्ले बोर्ड जडान, ४३ थान CCTV क्यामेरा स्थापना, तथा दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक, चालक–सहचालक, ई–रिक्सा व्यवसायी र सडक प्रयोगकर्तामाझ ‘दुई मिनेट ट्राफिक सचेतना कार्यक्रम’ व्यापक रूपमा सञ्चालन गरिएको थियो।

त्यसैगरी, धनुषाधाम नगरपालिका–७ धारापानीमा ट्राफिक प्रहरीका लागि ०–१२–३–० क्षेत्रफलको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुर्‍याउनु, मापसे तथा लापसे गरी सवारी साधन चलाउने चालकहरूलाई कानुनबमोजिम कारबाही गर्नु, ब्ल्याक स्पट पहिचान गरी रिफ्लेक्टिभ बोर्ड, टेप, स्टिकर तथा ट्राफिक संकेतहरू जडान गर्न पहल गर्नु उहाँका उल्लेखनीय कार्यहरूमा पर्दछन्।

विभिन्न VVIP/VIP सवारी, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जनकपुरधाममा लाग्ने मेला–पर्व, विशेषगरी श्री सीताराम विवाह पञ्चमी महा–महोत्सवका क्रममा प्रभावकारी ट्राफिक व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ।

उच्च कार्यकुशलता, इमान्दारिता र अटल कर्तव्यनिष्ठाका आधारमा प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५, नियम १९७ को उपनियम (ख) बमोजिम उहाँलाई अभिलेखमा जनिने गरी रु. १,३०० (अक्षरूपी तेह्र सय रुपैयाँ मात्र) नगद पुरस्कार सहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालद्वारा सम्मान गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय