
हेटौंडा, पुस ३ । नेपाल प्रहरी बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) हरी प्रसाद भट्टराईलाई २०८२ साल मंसिर महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)” घोषणा गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्र.स.नि. भट्टराईले अपराध नियन्त्रण, अनुसन्धान तथा फरार अभियुक्त पक्राउमा उल्लेखनीय सफलता हासिल गरेपछि उक्त सम्मान प्रदान गरिएको हो।
प्र.स.नि. भट्टराईले मिति २०८२/०६/२१ गते चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुरमा पैदल यात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाएको हिट एन्ड रन घटनामा संलग्न फरार अभियुक्त गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुनिल गुरुङलाई काठमाडौंको बौद्ध क्षेत्रबाट बा ३७ प ८५३० नम्बरको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएका थिए।
यसैगरी, २०८२ साल मंसिर महिनामा चितवन जिल्लाका विभिन्न स्थानबाट
• ट्रामाडोल २,७०७ क्याप्सुल,
• गाँजा ९ किलो १६१ ग्राम,
• खैरो हेरोइन १५३.१५४ ग्राम
सहित ४८ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
त्यस्तै, लेनदेन मुद्दामा १ करोड ६४ लाख रुपैयाँ बिगो तथा चेक अनादर मुद्दामा १५ लाख रुपैयाँ बिगो कायम भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनसमेत प्र.स.नि. भट्टराईको उल्लेखनीय योगदान रहेको नेपाल प्रहरीले जनाएको छ।
उनबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै निरन्तरता र अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९” अनुसार उनलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्र.स.नि. भट्टराईलाई उक्त सम्मान बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले प्रदान गरेका हुन्।



