धनुषा, मंसिर २०८२— जिल्ला प्रहरी कार्यालय धनुषाले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी बरिष्ठ नायव निरीक्षक (प्र.ब.ना.नि.) सागर शम्सेर ज.ब.रा.लाई २०८२ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (Police of the Month) घोषणा गरेको छ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत प्र.ब.ना.नि. जबराले गम्भीर प्रकृतिका अपराध अनुसन्धान तथा अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मिति २०८२/०७/२८ गते मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–११ मा घटेको जबर्जस्ती करणीसम्बन्धी घटनामा संलग्न अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएका थिए।

यसका साथै, जनकपुरधाम–१० स्थित एक होटलमा घटेको नाबालिकासम्बन्धी गम्भीर अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पनि उनले सक्रिय अनुसन्धानमार्फत पक्राउ गर्न सहयोग पुर्‍याएका छन्। २०८२ सालको राम–सीता विवाह पञ्चमी मेलाको अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम गर्नसमेत उनले अहम भूमिका निर्वाह गरेका थिए।

आफूलाई दिइएको जिम्मेवारी उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ निर्वाह गरी प्रहरी संगठनको छवि उकास्न उल्लेखनीय योगदान पुर्‍याएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई Police of the Month घोषित गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले उत्कृष्ट कार्यले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय