
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी निरीक्षक श्री नविन प्रकाश चापागाईंलाई उत्कृष्ट अनुसन्धान कार्यका लागि प्रशंसा–पत्र प्रदान गरिएको छ।
बर्दिया जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहँदै संगठनको नीति–निर्देशनअनुसार आफ्नो जिम्मेवारी र पदीय दायित्व ईमानदार, अनुशासित, बफादार र कर्तव्यनिष्ठ भएर पूरा गर्दै आउनु भएका चापागाईंले पछिल्लो समय एक संवेदनशील घटनाको सफल अनुसन्धान गर्नुभएको हो।

मिति २०८२ साल असोज १७ गते, गेरुवा गाउँपालिका–५ बस्ने करिब १० वर्षीया बालिका भारती (एन्जल) देउवा बेपत्ता भएकी थिइन्। उक्त घटनाको अनुसन्धान अधिकृतका रूपमा खटिनुभएका प्रहरी निरीक्षक चापागाईंको नेतृत्वमा टोलीले मिति २०८२ असोज २० गते बालिकाको शव बालुवामा पुरिएको अवस्थामा फेला पारेको थियो।
घटनामा संलग्न व्यक्तिको पहिचान गर्न CDR विश्लेषण लगायतका वैज्ञानिक अनुसन्धान प्रयोग गरी, गेरुवा गाउँपालिका–५, मूलपानी निवासी २१ वर्षीय समिर सुनारलाई मिति २०८२ असोज २१ गते पक्राउ गरी घटनाको सफल अनुसन्धान सम्पन्न गर्नुभयो।
बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको दुःखद घटनामा सत्य तथ्य उजागर गरी अपराधीलाई कानूनी दायरामा ल्याउने उत्कृष्ट अनुसन्धान कार्यप्रति उच्च प्रशंसा गर्दै जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले प्रहरी निरीक्षक नविन प्रकाश चापागाईंलाई प्रशंसा–पत्र प्रदान गर्नुभएको हो।



