सुदुरपश्चिम । जिल्ला प्रहरी कार्यालय दार्चुलाले प्रहरी निरीक्षक छत्रबहादुर रावतलाई २०८२ भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषणा गरेको छ।

कार्यालयका अनुसार अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत निरीक्षक रावतले लगनशीलता, जिम्मेवारीप्रतिको निष्ठा र प्रभावकारी नेतृत्व देखाएका कारण उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हो।

निरीक्षक रावतले Gen-Z आन्दोलनका क्रममा सदरमुकाममा फिल्ड कमाण्डरको रूपमा खटिँदै आन्दोलनलाई व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयसहितका सरकारी कार्यालयहरू क्षति हुनबाट जोगाएका थिए। साथै, २०८२ भदौ २४ गते दार्चुला कारागारबाट ७७ मध्ये ७१ जना कैदी र थुनुवा फरार भएको घटनामा तत्काल ६३ जनालाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसका अतिरिक्त, उनले विभिन्न प्रकृतिका चालु मुद्दाहरूको सफल अनुसन्धान, कार्यालय प्रमुख अनुपस्थित हुँदा निमित्त प्रमुखको रूपमा प्रभावकारी नेतृत्व, विपद्को समयमा मातहत इकाईलाई परिचालन गरी उद्धार तथा व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए।

प्रहरी निरीक्षक रावतलाई यस योगदानको उच्च मूल्याङ्कन गर्दै नगद पुरस्कारसहित ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय