
सुरक्षा सरोकार । जिल्ला प्रहरी कार्यालय धनुषाले भदौ २०८२ का लागि प्रहरी निरीक्षक जटाशंकर यादवलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Police of the Month) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यादवले इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुखको रूपमा कार्यरत रहँदै अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम र लागुऔषध नियन्त्रणमा उल्लेखनीय योगदान दिएका छन्।

मिति २०८२ भदौ ६ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित मोबाइल पसलमा भएको चोरी प्रकरणमा उनले चोरी गर्ने ३ जनालाई पक्राउ गरी चोरी भएका मोबाईलसहितका सामान बरामद गरेका थिए। सोही महिनाको २४ गते देशव्यापी रूपमा भएको JEN-Z आन्दोलनका क्रममा मातहतका ६ प्रहरी कार्यालयमा तोडफोड वा आगजनी जस्ता अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम राख्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
त्यसैगरी, भदौ ३१ गते विदेह नगरपालिका–३ स्थित हनिफ मन्सुरीको भगवती फिक्स इँटा भट्ठाबाट ४७५ किलो गाँजा बरामद गरी १ जना व्यक्ति र गाडी नम्बर प्रदेश ०३-०१-०२४ च ८३२५ समेत नियन्त्रणमा लिएका थिए। यस्तै, आन्दोलनकै क्रममा विभिन्न कारागारबाट भागेका कैदीमध्ये ५ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा पु¥याएका थिए।
उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी निरीक्षक यादवलाई २०८२ साल भदौ महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिएका छन्।
उनी नेपाल प्रहरी संगठनभित्र एक काबिल, अनुशासित र दक्ष अफिसरका रूपमा चिनिँदै आएका छन्। आफ्नो पेशागत दायित्वप्रति गहिरो प्रतिबद्धता, कानूनको पालना र संगठनात्मक शिस्तमा दृढ रहँदै उनले विगतदेखि नै उत्कृष्ट कार्यसम्पादन गर्दै आएका छन्। उनीमाथि वरिष्ठ र कनिष्ठ दुवै तहका सहकर्मीहरूले एक ईमानदार, निडर र जिम्मेवार प्रहरी अफिसरको छवि कायम गरेको विश्वास राख्दै आएका छन्।



