
धनगढी, साउन १०।दार्चुला जिल्ला प्रहरी कार्यालयलाई आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यसम्पादन सम्झौताअनुसार ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ घोषणा गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित समीक्षा कार्यक्रममा दार्चुलाले अन्य सबै जिल्लालाई पछि पार्दै उत्कृष्टताको उपाधि हात पार्न सफल भएको हो। समीक्षा कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर विकको प्रमुख आतिथ्यमा भौतिक तथा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो।

कार्यक्रममा मातहतका सबै जिल्ला प्रहरी प्रमुखहरूले श्रावणदेखि असार मसान्तसम्मका कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए। प्राप्त विवरणहरूको विश्लेषण गर्दा दार्चुला प्रहरीले सबैभन्दा बढी लक्ष्य हासिल गर्दै उच्चतम अंक प्राप्त गरेको पुष्टि भएको हो।
उक्त उपलब्धिको कदरस्वरूप डिएसपी प्रकाश दाहाल नेतृत्वको दार्चुला प्रहरी टोलीलाई ‘सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालय’ घोषणा गर्दै डीआईजी विकले प्रशंसा–पत्र प्रदान गरेका थिए। साथै, उनले डिएसपी दाहालको नेतृत्वमा देखिएको शिस्त, प्रतिबद्धता, सेवा प्रभावकारिता र जनमैत्री कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी सेवा दिन शुभकामना व्यक्त गरे।