सुर्खेत — कर्णाली प्रदेशमा बढ्दो लागुऔषध कारोबार र प्रयोगकर्तालाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले परीक्षण किट प्रयोग गरेर शंकास्पद व्यक्तिहरूको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुधिरराज शाहीका अनुसार, पछिल्ला समयमा लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने व्यक्तिहरूलाई प्रमाण अभावका कारण सजायबाट बच्ने समस्या देखिएको थियो। यसलाई मध्यनजर गर्दै प्रहरीले परीक्षण किट प्रयोग गरी लागुऔषध सेवन गरेको पत्ता लगाउने प्रक्रिया सुरु गरेको हो।

एसपी शाहीले भने, “हामीले विभिन्न प्रकारका परीक्षण किटहरू प्राप्त गरेका छौं। सुर्खेतका प्रमुख क्षेत्रमा ती किटको प्रयोग गरी शंकास्पद व्यक्तिहरूलाई परीक्षण गर्नेछौं। परीक्षणबाट लागुऔषध सेवन पत्ता लागेपछि प्रयोग भएको किट अस्पतालमा पठाइन्छ, जहाँ विस्तृत रिपोर्ट तयार भएपछि मुद्दा प्रक्रिया अघि बढाइनेछ।”

उनले थपे, “परीक्षण किटबाट प्राप्त प्रमाणलाई अदालतमा पेश गर्न अस्पतालले प्रमाणित रिपोर्ट उपलब्ध गराउनेछ, जसले मुद्दा प्रक्रिया अधिक प्रभावकारी बनाउनेछ।”

यस परियोजनामा संयुक्त राष्ट्रसंघको अपराध र लागुऔषध नियन्त्रण कार्यालय (यूएनओडीसी)ले सहयोग गरेको छ। प्रहरीका अनुसार, नयाँ प्रविधि प्रयोगबाट लागुऔषध नियन्त्रणमा सुधार आउने र सार्वजनिक सुरक्षा बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय