
काठमाडौँ, मंसिर ७ ।बाँके जिल्लाका स्पा, मसाज सेन्टर र केही खाजा घरहरूमा यौनजन्य अवैध गतिविधि फैलिएको भन्दै स्थानीयवासीबाट आएको गुनासोपछि प्रहरीले कडा निगरानी थालेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीको सक्रिय नेतृत्वमा नेपालगन्ज र कोहलपुर क्षेत्रमा विशेष अनुगमन अभियान सञ्चालन गरिएको हो।
प्रहरीको यस अभियानका क्रममा स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा छापा मार्दा गैर–कानुनी तथा गैर–व्यावसायिक गतिविधिमा संलग्न १८ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये ११ महिला र ७ पुरुष रहेका छन्। प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीका अनुसार अवैध गतिविधि पुष्टि भएकाले आगामी दिनहरूमा निगरानी झनै कडा बनाइनेछ।

एसपी जिसीका अनुसार केही दिनअघि मात्रै नेपालगन्जका चार होटलमा गरिएको विशेष छापामा ४५ जना अवैध गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए। सोही अभियानलाई निरन्तरता दिंदै अहिले स्पा, मसाज सेन्टर, खाजा घर र होटलहरूमा निगरानी विस्तार गरिएको हो। यस्तै, बाँकेका क्यासिनो र अन्य संवेदनशील क्षेत्रहरूमा पनि अनुगमन तीव्र गरिएको प्रहरीले जनाएको छ।
एसपी अङ्गुर जिसीको नेतृत्व र सक्रियताप्रति स्थानीयवासीहरूको व्यापक प्रशंसा
जेनजी आन्दोलनपछि बाँकेमा प्रहरी नेतृत्व परिवर्तन भएसँगै अवैध क्रियाकलाप नियन्त्रणमा प्रहरीले देखाएको तत्परता र कडा कदमप्रति स्थानीयवासीहरू सकारात्मक बनेका छन्। एसपी जिसीले सार्वजनिक स्थल, होटल, स्पा र व्यापारीक क्षेत्रलाई सुरक्षित र स्वच्छ बनाउन सुरु गरेको अभियानले तत्काल प्रभाव देखाउन थालेको बताइन्छ।
स्थानीयहरूका अनुसार, जिसीको नेतृत्वमा सुरु गरिएको अभियानले पहिलेका तुलनामा अवैध गतिविधिमा संलग्न व्यक्तिहरू झन् सतर्क बनेका छन्, र व्यवसायिक अनुशासन पनि स्थापित हुँदै गएको छ।
एसपी जिसीले भनेका छन्—
“अवैध गतिविधि जे–जहाँ पाइन्छ, त्यहीँ कारबाही हुन्छ। बाँकेलाई अपराधमुक्त, सुरक्षित र अनुशासित क्षेत्र बनाउने उद्देश्यले प्रहरी निरन्तर काम गरिरहेको छ।”
उनको दृढता, सक्रियता र पारदर्शी नेतृत्वले बाँकेमा सुरक्षाको वातावरण मजबुत भएको स्थानीयवासीहरूले उल्लेख गरेका छन्।



