
काठमाण्डौं— पर्वत, फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीस्थित अस्थायी प्रहरी पोष्ट शंकरपोखरीको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल सरकार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि सहसचिव तथा गृह प्रवक्ता रामचन्द्र तिवारीले दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभयो।
शुभकामना मन्तव्यक्रममा उपप्रमुख शोभाकुमारी क्षेत्री, डीएसपी रविन विष्ट, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालगायतले शंकरपोखरीमा स्थापना भएको अस्थायी प्रहरी पोष्टले स्थानीय सुरक्षालाई मजबुत बनाउने विश्वास व्यक्त गरे।
त्यसैगरी, प्रमुख अतिथि सहसचिव रामचन्द्र तिवारीले प्रहरी सेवाको विस्तारका लागि शंकरपोखरीमा चौकी आवश्यक रहेको र तत्काल अस्थायी चौकी स्थापना भए पनि भविष्यमा स्तरोन्नतिका लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रहरी र नागरिकबीचको साझेदारी समाजलाई सुरक्षित र सभ्य बनाउन महत्त्वपूर्ण हुने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा नगरप्रमुख गंगाधर तिवारीले उपस्थित सबैमा आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभयो।




