
विक्रम संवत् २०५१ सालमा सल्यान जिल्लाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका भुपेन्द्र बुढाथोकी बाल्यकालदेखि नै लगनशील र बहुप्रतिभाशाली व्यक्ति थिए। उनी सानैदेखि कबिता गजल लेखनमा विशेष रुचि राख्थे र साथीहरूलाई सुनाउने गर्थे। उनको अर्को सपना भने लाहुरे बन्ने थियो। विक्रम संवत् २०५९ सालमा आफ्नो परिवारसँगै सल्यानबाट दाङ, तुलसीपुर बसाइँ सरे। त्यहाँ उनले तुलसी बोर्डिङ स्कूलबाट औपचारिक अध्ययन सुरू गरे।
भुपेन्द्र बुढाथोकीले २०६८ सालमा तुलसी बोर्डिङ स्कूलबाट एसएलसी परीक्षा उत्कृष्ट नतिजासहित (डिस्टिङ्क्सन) उत्तीर्ण गरे। त्यसपछि उनले तुलसीपुरमै रहेको गोर्खा स्कूलमा व्यवस्थापन संकायमा प्लस टु अध्ययन पूरा गरे। प्लस टुमा पनि डिस्टिङ्क्सन ल्याएपछि उनले आफ्नो लाहुरे बन्ने सपना तर्फ अघि बढ्ने निर्णय गरे।
यस्तै क्रममा, उनले नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदको प्रतिस्पर्धामा पहिलो प्रयासमै सफलता हात पारे।

प्रहरी सेवामा प्रवेश र संगीत यात्रा—
भुपेन्द्र बुढाथोकी विक्रम संवत् २०७३ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरे। एक वर्षको तालिम पूरा गरेपछि उनको पहिलो पोस्टिङ बाँके जिल्लामा भयो। प्रहरी सेवामा कार्यरत रहँदै उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए।
बाँकेमा कार्यरत रहँदा उनको गीत-संगीतप्रति अझै झुकाव बढ्दै गयो। नेपाल प्रहरीमा आबद्ध रहँदै उनले आफ्नो पहिलो गीत “हामी नेपाल प्रहरी” सार्वजनिक गरे। चर्चित गायक राजेशपायल राईको स्वर रहेको यो गीत उनले आफैं लेखेका थिए, साथै अभिनय पनि गरेका थिए।
उनको दोस्रो गीत “फूल भनौँ जिन्दगीलाई” (स्वर: पूर्णिमा लामा) निकै चर्चित बन्यो। यस गीतका लागि उनले हालसम्म दुई वटा प्रतिष्ठित अवार्डसमेत जित्न सफल भएका छन्। साथै, हालै आयोजित एक कार्यक्रममा उनले रचना गरेको “भाग्य लेख्ने भगवान कहाँ छौ” गीतबाट सर्वोत्कृष्ट आधुनिक गीतकार विधामा ५ औं इपिक म्युजिक अवार्ड जित्न सफल भएका छन्।
संगीत र करियरको सन्तुलन—
संगीतप्रति गहिरो रुचि राख्ने भुपेन्द्र बुढाथोकीले अहिलेसम्म ९ वटा गीतहरू सार्वजनिक गरिसकेका छन्। प्रहरी सेवासँगै संगीतलाई पनि सँगै अघि बढाउने सोचसहित उनले २०७७ सालमा पहिलो प्रयासमै प्रहरी निरीक्षक पदमा नाम निकाल्न सफल भए। हाल उनी प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंमा प्रहरी निरीक्षक पदमा कार्यरत छन्। आफ्नो पेशागत जिम्मेवारी र सांगीतिक सौखलाई समान रूपले अघि बढाउने दृढ इच्छासहित उनी निरन्तर क्रियाशील छन्।
प्रेरणादायी जीवन यात्रा—
भुपेन्द्र बुढाथोकीको यात्रा कठिनाइहरूका बाबजुद पनि दृढ संकल्प, मेहनत, र आत्मविश्वासको उदाहरण हो। लाहुरे बन्ने सपना त पूरा भएन, तर प्रहरी सेवामा आफ्नो प्रतिष्ठा स्थापित गर्दै संगीत क्षेत्रमा पनि सशक्त उपस्थिति जनाउन सफल भएका छन्। उनको जीवन कहानी नेपाली युवाहरूका लागि प्रेरणादायी छ—जहाँ इच्छाशक्ति, मेहनत, र लगनशीलता हुन्छ, त्यहाँ सफलता अवश्य मिल्छ भन्ने गतिलो उदाहरण हुन् भुपेन्द्र बुढाथोकी।

सुरक्षा सरोकार डटकमका लागि प्रहरी निरीक्षक / गितकार भुपेन्द्र बुढाथोकीसँगको विशेष कुराकानी :—
❖ दिनचर्या कसरी बित्दै छ?
भुपेन्द्र बुढाथोकी: छिट्टै उठेर शारीरिक फिटनेसका लागि कसरत गर्छु। त्यसपछि दिनभरि कार्यालयमा कानून कार्यान्वयन, शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, र अन्य जिम्मेवारीहरूमा व्यस्त रहन्छु।
डिउटी पछिको फुर्सद समयमा संगीत साधनामा समय दिन्छु—नयाँ गीत लेख्ने, कबिता लेख्ने आदि । यसै क्रममा, मेरो नयाँ गीत पनि चाँडै ल्याउने योजनामा छु।
❖ तपाईंको दृष्टिकोणमा गीत-संगीत के हो?
भुपेन्द्र बुढाथोकी: गीत-संगीत जिन्दगीका भोगाइ, उतार-चढाव, अनि अन्तरआत्माका भावनाहरूलाई व्यक्त गर्ने सबैभन्दा सुन्दर माध्यम हो। यसले समुदाय, समाज, र राष्ट्रलाई परिचित गराउनुका साथै सकारात्मक परिवर्तनको दिशामा लैजान सक्ने सशक्त शक्ति बोकेको हुन्छ।
❖ संगीतमा लागेर के हासिल गर्नुभयो?
सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो। धन कमाउन अलि कम सकियो होला, तर खुशी भने धेरै कमाएको छु। व्यक्तिगत रूपमा अनुहार धेरैले नचिनेका हुन सक्छन्, तर मेरो गीत देश तथा विदेशमा परिचित भएको देख्दा स्वर्गीय आनन्द प्राप्त भएको अनुभूति गर्छु। आफु भन्दा सिनियर सरहरुले भुपेन्द्र बुढाथोकी भन्दा ए तिमी गित लेख्ने भाइ होइन भन्दा मन खुशी हुन्छ ।
❖ नेपाली गीत-संगीतको वर्तमान अवस्था कस्तो छ?
सर्जकहरूका प्रयासले नेपाली गीत-संगीतलाई सुगम र उच्च स्तरमा राख्न निकै राम्रो काम भएको छ। दर्शक तथा श्रोताहरूले पनि नेपाली गीत-संगीतलाई माया गरिरहेका छन्।
❖ गायक-गायिकाले मेला-महोत्सवबाट लाखौं कमाउँछन्, तर गीतकार र संगीतकारले उचित रोयल्टी किन पाउँदैनन्?
यो एउटा दुखद पक्ष हो। म स्वयं गीतकार पनि भएकाले थाहा छ—शब्दको महत्त्व कति हुन्छ, अनि गीतको मूल्य कस्तो हुनुपर्छ। शब्द राम्रो नभए कुनै गीत उत्कृष्ट हुन सक्दैन, किनकि गीतको जग भनेकै शब्द हो। ओजपूर्ण शब्दले मात्रै प्रभावशाली संगीत जन्माउँछ। रोयल्टीको विषयमा म धेरै बोल्न चाहेन किनकि म भन्दा कति उत्कृष्ट उत्कृष्ट गितकारहरु हुनुहुन्छ । म जे छ त्यसैमा खुशी छु ।




