कञ्चनपुर। गृहमन्त्री रमेश लेखकले विदेशी लगानी भित्र्याउन र देशभित्रै लगानीको वातावरण बनाउन सरकारले विशेष पहल गर्दै अध्यादेश ल्याएको बताएका छन्।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले उद्योगी-व्यवसायीहरूको लामो समयदेखिको कानुनी जटिलता सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउने उद्देश्यले अध्यादेश ल्याइएको जानकारी दिए। उनले संघीय संसदको पहिलो बैठकमै अध्यादेश प्रस्तुत गरिने बताए।

संसदीय सहमति र स्थिरता

आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य जारी रहेको उल्लेख गर्दै उनले यो समीकरण २०८४ सालको चुनावसम्म कायम रहने दाबी गरे।

‘हाम्रा बीचमा कुनै समस्या छैन। बेलाबेलामा विभिन्न हल्ला चल्ने गर्छन्, तर हाम्रो सहकार्य सुदृढ छ,’ उनले भने।

विपिन जोशीको रिहाइमा पहल

गृहमन्त्री लेखकले हमासको बन्धक बनेका कञ्चनपुरका विपिन जोशी सकुशल रहेको जानकारी पाएको बताए। युद्धविरामको वर्तमान परिस्थितिमा उनको रिहाइका लागि सरकार गम्भीरताका साथ लागिरहेको उनले जनाए।

महाकाली पुल आयोजनामा सक्रियता

गृहमन्त्री लेखकले महाकाली पुल आयोजनालाई नेपाल, भारत, र चीन जोड्ने रणनीतिक परियोजना भएको बताए। शनिबार भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालसहित प्राविधिक टोलीले स्थलगत अनुगमन गरेपछि उनले बाढीले पुल र मानव बस्तीमा क्षति हुन नदिन बलियो संरचना निर्माण गरिने आश्वासन दिए।

सुख्खा बन्दरगाह निर्माण र मझगाउँ विमानस्थल

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने बताउँदै उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र इन्टरमोडलबीच रुख काट्ने सम्झौता भइसकेको जानकारी दिए।

‘जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा छ, दुई तीन महिनाभित्र निर्माण सुरु हुन्छ,’ उनले भने।

त्यस्तै, महाकाली करिडोरको पूर्णता र मझगाउँ विमानस्थल सञ्चालनका लागि प्रयास जारी रहेको उनले बताए।

गृहमन्त्री लेखकले सरकारको प्राथमिकता आर्थिक विकास, संरचनागत मजबूती, र संकट व्यवस्थापन रहेको उल्लेख गर्दै ती सबै क्षेत्रमा सरकार प्रतिबद्ध रहेको दोहोऱ्याए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय