
स्याङजा— चापाकोट नगरपालिका, स्याङजा र इलाका प्रहरी कार्यालय चापाकोटको संयुक्त आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम चापाकोट नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा भव्य रूपमा सम्पन्न गरिएको छ।
उक्त कार्यक्रमको मुख्य उद्देश्य जनप्रतिनिधि, सुरक्षा निकाय तथा स्थानीयवासीहरूबीच प्रत्यक्ष संवाद स्थापित गर्दै जनताको आवाज नजिकबाट सुन्नु, तिनको गुनासो तथा सुझावहरूको सम्बोधन गर्नु र स्थानीय प्रशासन तथा सुरक्षा निकायको जवाफदेही सुनिश्चित गर्नु रहेको थियो।

कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख, उप–नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय चापाकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक मल्ल, वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा सहभागीहरूले समुदायमा देखिएका विविध समस्याहरू जस्तै—शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, स्थानीय विकास, शिक्षा तथा युवाहरूको भूमिकाजस्ता विषयमा गुनासो र सुझावहरू राखेका थिए। स्थानीयवासीहरूले प्रहरी प्रशासनको भूमिकाको सराहना गर्दै केही क्षेत्रमा सुधारको माग समेत गरेका थिए।
उक्त गुनासो र जिज्ञासाहरूको जवाफ चापाकोट नगरपालिकाका प्रमुख जनप्रतिनिधिहरू तथा प्रशासनिक अधिकृतहरूद्वारा दिइएको थियो भने सुरक्षासम्बन्धी जिज्ञासामा डिएसपी दीपक मल्लले आवश्यक स्पष्टीकरण दिएका थिए। उनले प्रहरी प्रशासन जनमैत्री बन्ने दिशामा काम गरिरहेको र जनताको साथ, सुझाव र निगरानीको सधैं स्वागत रहने बताएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजकले सबै सहभागीप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले स्थानीय तहमा पारदर्शिता, जवाफदेही र सहकार्य प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका थिए।





