
दिपक राज जोशी / काठमाडौँ — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पहिलो पटक ‘कागेश्वरी मनोहरा (मुलपानी) महोत्सव–२०८१’आयोजना गरिँदैछ। आर्या मिडिया प्रा.लि.को आयोजनामा र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा.लि.को व्यवस्थापनमा हुन गइरहेको उक्त महोत्सव यही जेठ १६ गतेदेखि असार ३ गतेसम्म वडा नम्बर ६, मुलपानीको पिपलबोट नजिकको ग्राउण्डमा हुने आयोजकले जनाएका छन्। यसैगरी, विशेष सहयोगीका रूपमा अमर सिंह युवा क्लब र पिपलबोट युथ क्लबको योगदान रहेको छ।


महोत्सवका अध्यक्ष कपिल कार्कीका अनुसार, यो महोत्सव कागेश्वरी मनोहरालाई देशव्यापी रुपमा चिनाउने एक महत्त्वपूर्ण अवसर हुनेछ। “मुलपानी क्षेत्र कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात छ। साथै, काठमाडौँकै आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि यसको भविष्य उज्वल छ,” अध्यक्ष कार्कीले भने। उनले महोत्सवलाई यस क्षेत्रकै उत्कृष्ट र पहिचानयुक्त कार्यक्रमको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

महोत्सवको मूल उद्देश्य कृषि, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको गुणस्तरीय प्रस्तुति र बजार विस्तारमा सहयोग पुर्याउनु रहेको छ। साथै, आधुनिक ग्रामीण प्रविधि र सूचना प्रविधिको समेत प्रदर्शनी गरिने छ, जसबाट उद्यमशीलता र प्रविधि हस्तान्तरणलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
अध्यक्ष कार्कीले महोत्सवले स्थानीय आर्थिक र सामाजिक उत्थानमा समेत उल्लेखनीय योगदान दिने विश्वास व्यक्त गरे। महोत्सवमा बालबालिकाका लागि बाल उद्यान, युवाहरूका लागि नयाँ प्रविधि र नवप्रवर्तनको जानकारी दिने स्टलहरू, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी परम्परागत संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छन्।
“त्यस अवसरमा बोल्दै वरिष्ठ कलाकार कुमारमणि गजुरेलले आफू २०५२ सालदेखि कलाकारितामा सक्रिय रहेको उल्लेख गर्दै, यस्ता मेला महोत्सवहरू आफ्नै ठाउँमा आयोजना गर्ने सपना रहँदै आएको बताए। त्यसैले यस कार्यक्रममा आफूले सक्दो सहयोग गरेको पनि स्पष्ट गरे।”

महोत्सवमा झण्डै ६० वटा स्टल स्थापना गरिने छ, जसमा कृषिजन्य उत्पादन, घरेलु सामग्री, आधुनिक प्रविधि, हस्तकला, स्थानीय र मौलिक परिकार तथा अन्य उपयोगी वस्तुहरू प्रदर्शन गरिने छन्। ५० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ। आयोजकले स्थानीय उत्पादन र व्यवसायलाई प्राथमिकता दिँदै सहुलियत दरमा स्टल उपलब्ध गराउने जनाएको छ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूले सांगीतिक तथा नृत्य प्रस्तुतिहरू दिनेछन्। सांस्कृतिक कार्यक्रमहरूमा विशेष रूपमा नेपाली लोक संस्कृति, पहिचान र विविधता झल्कने कार्यक्रमहरू समावेश गरिनेछ। दर्शकको सुविधाका लागि केही दिनमात्रै प्रवेश टिकट लाग्ने र बाँकी दिनहरू निःशुल्क प्रवेशको व्यवस्था गरिने जानकारी आयोजकले दिएको छ।






