
काठमाडौं, जेठ १० – लागूपदार्थ नियन्त्रण, सामाजिक सचेतना र शान्ति सुरक्षाको प्रवर्द्धनका लागि “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत एक भव्य नागरिक सुनुवाई कार्यक्रम काठमाडौंको नरेफाँटस्थित नेपाल सेन्ट्रल हाई स्कूलको प्राङ्गणमा सम्पन्न भएको छ।
कार्यक्रम कोटदेवी बिध्यानगर समाज सुधार समितिको अगुवाइमा तथा सामुदायिक सेवा तथा विकास समाज, प्रहरी प्रशासन, कोटदेवी स्कुल, जागृति स्कुल, नेपाल सेन्ट्रल हाई स्कूल लगायत विभिन्न शैक्षिक संस्थाहरूको सहकार्यमा आयोजना गरिएको थियो।

समितिका अध्यक्ष देब चौंलागाइको अध्यक्षतामा र काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी बिश्व अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, अभिभावक, शिक्षक, प्रहरी अधिकारी तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो।

एसएसपी अधिकारीले आफ्नो मन्तव्यमा लागूपदार्थको चपेटामा परिरहेका युवाहरू समाजको अमूल्य पुँजी भएको उल्लेख गर्दै “समयमै सचेत गराउन सके समाजलाई विध्वंसबाट जोगाउन सकिन्छ” भन्ने धारणा राखे। उनले प्रहरी प्रशासन सदैव समुदायसँग सहकार्य गर्न तयार रहेको र यस्तो साझेदारी कार्यक्रमले विश्वासको सम्बन्ध गाढा बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न वक्ताहरूले लागूपदार्थ, हिंसा, साइबर अपराध र किशोर/किशोरी लक्षित जोखिमहरूबारे सचेत गराउँदै विद्यालय तहदेखि नै शिक्षा र सुरक्षाको समन्वयमा जोड दिनुपर्ने औंल्याए। वक्ताहरूले नशाविरोधी अभियानलाई व्यक्तिगतभन्दा सामूहिक आन्दोलनमा रूपान्तरण गर्न समाजकै अग्रसरता आवश्यक रहेको बताए।
नागरिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीय प्रतिनिधिहरू, अभिभावक तथा शिक्षकमाझ ‘सामूहिक प्रतिबद्धता हस्ताक्षर’ गराउँदै लागूपदार्थ विरुद्धको सशक्त सन्देश दिइयो। कार्यक्रममा सहभागीहरूले यस्ता पहल निरन्तर हुनुपर्नेमा जोड दिंदै, समुदायको सहयोग र प्रहरीको सक्रियताले मात्र शान्ति र अनुशासनयुक्त समाज निर्माण सम्भव हुने धारणा राखे।
कार्यक्रमले समुदाय–प्रहरी साझेदारीको प्रभावकारी अभ्यासमार्फत नागरिक सरोकारका विषयमा संवाद, सुनुवाई र सहकार्यलाई प्रोत्साहन गर्दै सामाजिक रूपान्तरणको दिशामा सकारात्मक संकेत दिएको आयोजकहरूको भनाइ छ।





