
बाँके—जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहतका ट्राफिक प्रहरी पोष्टहरूले समन्वय र सहकार्यमा हालसालै एक व्यापक र प्रभावकारी ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। सवारी दुर्घटना न्यूनीकरणमा केन्द्रीत सो अभियान बाँकेको महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, रत्न राजमार्ग तथा भित्री सडकखण्डका विभिन्न स्थानहरूमा प्रभावकारी रूपमा सञ्चालन गरिएको हो।
कार्यक्रमको क्रममा ट्राफिक प्रहरीहरूले विद्यालय, बसपार्क, बजार क्षेत्र, यातायात टर्मिनल तथा जनघनत्व भएका स्थानहरूमा पुगेर सडक प्रयोगकर्ताहरूलाई सवारी सुरक्षाबारे जानकारी गराएका थिए। स्थानीय विद्यालयहरूमा विद्यार्थी, शिक्षक, अभिभावक, चालक, सह–चालकहरूलाई लक्षित गर्दै ‘लेन अनुशासन’, ‘सवारी संकेत चिन्हको प्रयोग’, ‘सडक पार गर्ने सुरक्षित तरिका’ र ‘ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने कानुनी कार्यवाही’ लगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरियो।

कार्यक्रमको प्रभावकारिता बढाउन पर्चा, पोस्टर, ब्यानर वितरण गरिएको थियो भने माइकमार्फत उद्घोषण गर्दै जनमानसमा ट्राफिक नियमप्रति सचेतना फैलाइएको थियो।
ट्राफिक प्रहरीको नेतृत्वमा भएको यस अभियानमा स्थानीय तहका जनप्रतिनिधि, विद्यालय प्रशासन, सामुदायिक संस्थाहरू तथा यातायात व्यवसायीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यालयले सबै सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आह्वान समेत गरेको छ, ताकि दुर्घटनारहित र सुरक्षित समाज निर्माणमा योगदान पुग्न सकोस्।





