काठमाडौं — नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा दुईदिवसीय “दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२” को समापन समारोह सोमबार नेपाल पुलिस स्कुल सामाखुसीमा सम्पन्न भएको छ। समापन समारोहमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरका ४४ वटा विद्यालयबाट कुल ६५३ जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेता खेलाडीहरू, सहभागी विद्यालयहरू तथा खेल व्यवस्थापनमा संलग्न सम्पूर्ण टिमलाई पुरस्कार, प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै आईजीपी दान बहादुर कार्कीले प्रतियोगितामा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले खेलकुदले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताहरूले समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसी व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रमुख अतिथि आईजीपी दान बहादुर कार्कीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

प्रतियोगिताको सफल आयोजनले विद्यालयस्तरमा तेक्वान्दो खेलको प्रवर्द्धनसँगै खेलकुदमार्फत अनुशासित र सक्षम जनशक्ति निर्माणमा टेवा पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय