
सुरक्षा सरोकार – जेनजीको आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च राख्न काठमाडौं उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले नयाँ र फरक किसिमको अभियान सञ्चालन गरेका छन्।
बिहीबार एसएसपी अधिकारीले जुनियर प्रहरी कर्मचारी ५० जनालाई राजधानीको कमलदीस्थित सिटी सेन्टरको हलमा ‘माइतीघर’ फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्ट डे’ मनाएका छन्।

एसएसपी अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूको मानसिक सन्तुलन र मनोबल उच्च राख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक हुन्छ।
“हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले बताए।
उनले थपे कि प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत फरक-फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्ने गरेका छन्।
एसएसपी अधिकारीका अनुसार, यस किसिमको रिफ्रेसमेन्ट कार्यक्रमले प्रहरीहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र सकारात्मक सोच उत्पन्न गर्छ। सहभागी प्रहरीहरू पनि यस्तो कार्यक्रमप्रति निकै उत्साहित र आभारी देखिएका छन्।
यसरी साँझको ‘फिल्म डे’ केवल मनोरञ्जनको माध्यम नभई संगठनभित्रको आपसी सम्बन्ध बलियो बनाउने र मानवीय संवेदना उजागर गर्ने एसएसपीको सोच उत्कृष्ट उदाहरण बनेको छ।




